शक
प्राचिन मध्य एसियाली लडाकु जाति / From Wikipedia, the free encyclopedia
शक (पुरानो फारसी: Saka, संस्कृत: शक, युनानी(ग्रीक): Σάκαι; ल्याटिन: Sacae, चिनियाँ: 塞, पुरानो Sək, नयाँ Sai) भन्नाले फारसी भाषा र संस्कृत भाषामा स्काइथियन जातिलाई बुझाउँछ जो युरासियन स्टेप्समा बसोबास गर्ने पूर्वी क्षेत्रिय ईरानी (फारसी) लडाकू जातिय समुह थियो।[1] आधुनिक लेखकहरू शकको प्रयोग पूर्वी स्टेप्समा र तारिम बेसीमा बस्ने ईरानी(फारसी)हरूलाई गर्दछन् ।[2] शकको सही नस्ल (Race)को पहिचान गर्न कठिन छ किनकि प्राचीन भारतीय, ईरानी, युनानी (ग्रीक) र चिनियाँ स्रोतले अलग-अलग विवरण दिने गर्छ। इतिहासकार मान्दछन् कि 'सबै शक स्काइथियन थिए, तर सबै स्काइथियन शक थिएनन्', अर्थात् 'शक' स्काइथियन समुदायको एक जाति थियो। शक एक प्राचीन इरानी भाषा परिवारको भाषा बोल्दथे र यिनका अन्य स्काइथियन जाति-सरमतीयन (सरमतीय समुह) सँग सम्बन्ध थियो।
रेने ग्रुसेटका अनुसार शकहरू स्काइथो-सरमतीय परिवारका शाखा थिए जो युरेसिया फाँटको दक्षिणपश्चिम इलाकाका ईरानी गणबाट उत्पत्ति भएका थिए ।[3] यिनीहरू मध्य एसियाको सोग्दिया र ब्याक्ट्रियामा बसाइँ सरे । त्यसपश्चात शकहरू दक्षिणपश्चिम भारतीय उपमहाद्वीपमा आएर शासन गर्न थाले जसलाई इन्डो-स्काइथियन साम्राज्य भनियो । इन्डो सिथियन्सहरूको क्षेत्र पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, सिन्ध, खैबर पख्तुनख्वा र अफगानिस्तान पर्दछ जहाँ शक सम्बतको थालनी भयो । त्यस्तै अर्को समुह दक्षिणपश्चिम चीनको तारिम बेसी र ताक्ला मकान मरुभूमिमा आए जहाँ उनीहरू काश्गर र खोतान राज्यमा आइ बसेका थिए जो चिनियाँ शासक हान र टाङ्ग वंशको ठेक्काराज्य थियो। यस क्षेत्रमा ककेसियाली नस्लका व्यक्तिहरूको खप्पर अझैँ पाइन्छ र यो चीनको एकमात्र गैरमंगोलियाई ककेसियन बहुसङ्ख्यक भएको क्षेत्र हो ।