बहादुर शाह
From Wikipedia, the free encyclopedia
बहादुर शाह (जन्म: १८१४ वि.सं. - मृत्यु: १८५४ ) वि.सं.पृथ्वीनारायण शाहका माहिला छोरा र राजनीतिज्ञ थिए। (राजा रणबहादुर शाहले उनलाई लेखेको पत्रमा माहिला काका भनी सम्बोधन गरेका छन्।) उनले आफ्ना पिताले सुरु गरेको नेपाल एकिकरणको अभियानलाई तीव्र गतिले अघि बढाए । चौतारिया बहादुर शाहको नायाबीकालामा पश्चिम नेपालका राज्य रजौटाहरूलाई नेपाल राज्यमा मिलाएर राज्य विस्तारको कार्य गरिएको थियो।[2] भाउजू राजेन्द्रलक्ष्मी र भतिजा रणबहादुर शाहको अनेकौ षड्यन्त्र र दाउपेचको शिकार बन्नुपरे तापनि राजेन्द्रलक्ष्मीको मृत्यु (वि.सं. १८४२) पश्चात् निर्वासनबाट फर्केर नेपाल एकीकरण अभियानमा योगदान दिए।[3]
बहादुर शाह | |
---|---|
नायव साहेब नेपाल | |
जन्म | वि सं १८१४ असार ६ नुवाकोट, गोरखा राज्य |
मृत्यु | वि सं १८५४ असार १५[1] आर्यघाट, पशुपतिनाथ, नेपाल |
जीवनसाथी | विद्या लक्ष्मी देवी |
सन्तान | रिपू मर्दन शाह शत्रु मन्जन शाह |
वंश | शाह वंश |
बाबु | पृथ्वीनारायण शाह |
आमा | नरेन्द्र राज्य लक्ष्मी देवी |
धर्म | हिन्दु |
तर उनले आफ्ना पिताले स्थापित गरेका केहि नियमहरूलाई उल्लङ्घन गरे। कुनै पनि भारदारलाई नमार्नु भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशको विपरित उनले सर्वजीत राना मगरलाई मारी भारदारको हत्याको प्रचलन सुरु गरे। भारदारको हत्या गर्ने प्रचलन भीमसेन थापाको शासनमा चरममा पुगेको थियो।[4]
३८ वर्षको उमेरमा नेपालका एक सशक्त निर्माता बहादुर शाहको दुर्भाग्यपूर्ण अवसान भयो र नेपालको एकीकरणको महत्वपूर्ण अभियान एकाएक बीचैमा रोकियो।[5] उनको हत्याकाण्ड पछि नेपालको राज्यव्यवस्थामा ठूलो आतंक फैलियो। नेपालको राजदरबार भित्र षड्यन्त्र तथा हत्याकाण्डका शृङ्खला चल्न थाले र नेपाली नागरिक अनेकौं किसिमको विपत्तिको सामना गर्न विवश रहे। राजा रणबहादुर शाह र चौतारा शेरबहादुर शाहीहरूको डरले गर्दा कुनै पनि भारदार पनि यस हत्याकाण्डको सम्बन्धमा चुँसम्म पनि गर्न समर्थ थिएनन् भने सर्वसाधारण नागरिकको त झन् कुरै भएन।
आफ्ना विशिष्ट योगदानहरूले गर्दा सुयोग्य पिताका योग्य पुत्रका रुपमा मात्र होइन, नेपाल अधिराज्यका निर्माताका वास्तविक उत्तराधिकारीका रुपमा पनि यिनी लामो समय सम्म नेपालीहरूबीच गर्वका साथ सदा सम्झीईदै रहनेछन्।[6]