पशुपतिनाथ मन्दिर
काठमाडौंमा अवस्थित ऐतिहासिक एबम् धार्मिक स्थल / From Wikipedia, the free encyclopedia
पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।[1] काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन , सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्रको रूपमा रहेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल , अखाडा पनि रहेका छन्। [2] पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।
पशुपतिनाथ मन्दिर | |
---|---|
श्री पशुपतिनाथ मन्दिर | |
स्थान नेपाल | |
प्राथमिक विवरण | |
स्थान: | काठमाडौं |
निर्देशाङ्क | २७°४२′३५″उ॰ ८५°२०′५५″पू॰ |
सम्बन्धन | हिन्दुत्व |
देवता | शिव (पशुपति) |
चाडपर्व | महा शिवरात्रि, तीज |
जिल्ला | काठमाडौं |
प्रदेश | बागमती प्रदेश |
देश | नेपाल |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | प्यागोडा |
स्थापित मिति | ५ औं शताब्दी ई. |
विशेष विवरण | |
साइट क्षेत्र | 2,460,000 m² |
मन्दिर(हरू) | ५१९ प्यागोडा |
मापदण्ड | सांस्कृतिक: (iii)(iv)(vi) |
नामाङ्कित | १९७९ (तेस्रो सत्र) |
को भाग | काठमाडौं उपत्यका |
सन्दर्भ क्रम सङ्ख्या | 121bis-006 |
यो मन्दिर यस संसारमा रहेका २७५ 'पादल पेत्र स्थलम'(शिवको पवित्र स्थान) मध्ये एक हो । पशुपतिनाथमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्त्वका साथ मनाइन्छ। शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लाग्ने गरेको छ । यस दिन आराध्यदेव पशुपति अर्थात् शिवजीको आराधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिनाथको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवजी को दिव्य जन्म वा अवतरणको महान् दिन हो शिवरात्रि।अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। शिवरात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ ।[3]
मन्दिरको गर्भमा रहेको शिवलिङ्ग मा पाँच मुख रहेको छ
- पुर्व तर्फ: तत् पुरुष (ज्ञान)
- पश्चिम: तर्फ सदोधन (सम्पति)
- उतर तर्फ: वामन (दम्पति)
- दक्षिण तर्फ: अघोर (शत्रुनाश)
- आकास तर्फ: ईशान