जनकपुरधाम उपमहानगरपालिका
जनकपुर अञ्चलको धनुषा जिल्लामा अवस्थित छ / From Wikipedia, the free encyclopedia
जनकपुरधाम (पूर्व तथा हालसम्म चलनचलतीमा रहेको नाम: जनकपुर)[9][10] नेपालको मधेश प्रदेशको धनुषा जिल्लामा रहेको प्रादेशिक राजधानी[1], जिल्ला सदरमुकाम[11] र एक उपमहानगरपालिका हो।[12][13] धनुषा जिल्लाको पहिलो नगरपालिका रहेको यो नगरको नामकरण प्राचीन मिथिला क्षेत्रका राजा जनकको नामबाट भएको हो। यो सहर नेपालको राजधानी काठमाडौँबाट ४५० कि.मि. को दुरीमा अवस्थित छ।
जनकपुरधाम
जनकपुर | |
---|---|
निर्देशाङ्क: २६°४३′४३″उ॰ ८५°५५′३०″पू॰ | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | धनुषा जिल्ला |
नगरपालिका | वि.सं. २०१७ जेठ १३[2] |
सम्मिलित क्षेत्र | जनकपुरधाम |
उपमहानगरपालिका | वि.सं. २०७१ पुस २८[3] |
सम्मिलित (गाविस) | लोहना, प्रखे महुवा, बेंगाशिवपुर, बसविटिट, कुर्था, देवपुरा रुपैठा, बिन्धी, बसहिया, लक्ष्मीपुरबगेवा, गोपालपुर र कनकपट्टी |
सम्मिलित (गाविस) | कनकपट्टी, अन्दुपट्टी (६-९), मानसिंहपट्टी (१-५) र गोपालपुर (१-२) |
सम्मिलित मिति | वि.सं. २०७४ जेठ ११[4][5] |
नामकरण | जनक[6] |
सरकार | |
• मेयर | लाल किशोर साह[7] (जसपा) |
• उप मेयर | रिता कुमारी मिश्र (लोसपा) |
क्षेत्रफल | |
• जम्मा | ९१.९७ किमी२ (३५.५१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५९४६८ |
• घनत्व | १७००/किमी२ (४५००/वर्ग माइल) |
क्षेत्रीय सङ्केत | ०४१ |
वेबसाइट | www.janakpurmun.gov.np |
नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०१७ जेठ १३ गतेदेखि लागु हुने गरी जनकपुर नगरपालिकको गठन गरिएको थियो।[2] जनकपुरलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो। जनकपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा कुर्था, बसविटिट, बिन्धी, प्रको महुवा, लोहना, बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, गोपालपुर तथा कनकपट्टी गाउँ विकास समितिलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो।[3] सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो नगरपालिकामा २ वटा गाउँ विकास समितिहरूको आंशिक भाग थपेर यसको क्षेत्र विस्तार गरेको थियो[14][15][16] तर राजनीतिक विवादका कारण सरकारले स्थानीय तहहरू पुनर्मूल्याङ्कन गरि वि.सं. २०७४ जेठ ८ गते गरेको निर्णय तथा वि.सं. २०७४ जेठ ११ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार थप गरिएका गाउँ विकास समितिहरूलाई खारेज गरि यस उपमहानगरपालिकामा कनकपट्टी, अन्दुपट्टी (वडा नं. ६-९), मानसिंहपट्टी (वडा नं. १-५) र गोपालपुर (वडा नं. १-२) क्षेत्र कायम गरेर क्षेत्र विस्तार गरिएको थियो।[4][5][17]
यहाँ नेपालको प्रसिद्ध जानकी मन्दिर रहेको छ।[18] जनकपुर हिन्दू धर्ममा एक महत्त्वपूर्ण स्थल, मैथिली संस्कृतिको केन्द्र तथा नेपालको एकमात्र रेल सुविधा भएको सहर भएकोले पर्यटनका लागि पनि महत्वपूर्ण मानिन्छ। वर्तमान समयमा यो उपमहानगरपालिकाको कुल क्षेत्रफल ९१.९७ वर्ग किलोमिटर रहेको छ भने नेपालको वि.सं. २०६८ को जनगणना अनुसार यहाँको कुल जनसङ्ख्या १,५९,४६८ रहेको छ। यो नगरपालिकालाई २५ वटा वडामा विभाजन गरिएको छ।