प्वाँख
From Wikipedia, the free encyclopedia
प्वाँख केही प्राणीहरू, विशेषगरि पन्छीको शरीरलाई छोप्ने अङ्ग हो वा यसलाई अर्को भाषामा भन्नु पर्दा प्वाँख चराहरूको बाहिरी छालामा टाँसिएर रहने केराटिनले बनेको एक प्रकारको संरचना हो। प्वाँखहरू मिलेर प्वाँखका सतहहरू बन्छन् भने त्यस्ता सतहहरू मिलेर बाहिरी महत्त्वपूर्ण आवरण बन्ने गर्दछ। प्वाँखहरूसँग सम्बन्धित विज्ञानको एक भागलाई जर्मनेली भाषामा प्लुमलोगी भनिन्छ।[1]
प्वाँखहरूले एकातिर चरालाई पानी र चिसोबाट जोगाउँछन् भने अर्को तिर प्वाँखले चराहरूलाई आकर्षक देखाउनुका साथ साथै यसले शत्रुका विरूद्ध छलकपट गर्न पनि मद्दत गर्छ। यसका अतिरिक्त यो दृश्य सञ्चारको माध्यम पनि हो। यसमा अवस्थित ठोस प्रकारको वस्तुले चराहरूलाई उड्नमा मद्दत गर्दछ। यद्यपि एउटा प्वाँख अत्यन्तै हलुका छ भने चराको प्वाँखको तौल यसको अस्थिपञ्जर भन्दा दुई गुणा बढी हुन्छ। पन्छीहरूको शरीरमा हुने प्वाँख आजभन्दा करोडौं वर्ष पहिले पृथ्वीको प्राकृतिक इतिहास अनुसार डायनोसरहरूको शरीरमा समेत हुने गरेको थियो।[2] जीव वैज्ञानिकहरूको अनुसार प्वाँख प्राणीहरूको छाला प्रणालीसँग सम्बन्धित सबैभन्दा जटिल अङ्ग हो।
पन्छीमा हुने प्वाँखको धेरै फाइदा छ। प्वाँखको सहयोगले पन्छीहरू उड्ने गर्छ, चिसो-गर्मी र वर्षाबाट शरीरलाई रक्षा गर्छ, रङ्गको कारण एकआपसमा आफ्नो जातको पहिचान गराउँछ, भालेलाई पोथीतर्फ आकर्षित गर्नमा सहायक हुन्छ, एक-अर्कालाई सङ्केत पठाउनका निम्ति काम आउनुका साथै युद्धमा समेत यसको काम पर्छ।[3]
वास्तवमा प्वाँख पन्छीको छालाको एउटा विशिष्ट प्रकारको श्रृङ्गाकार उद्वर्ध हो, जसले पन्छीलाई हवाई जीवनको आवश्यकतालाई पूर्ति गर्ने गर्छ। यसको कारण पन्छीको शरीरको गर्मी बाहिर निस्कँदैन र तौल बढ्न पाउँदैन।