नानचिङ नरसंहार
From Wikipedia, the free encyclopedia
नानचिङ नरसंहार विश्व इतिहासमा नानचिङ बलात्कारको नामबाट परिचित, सन् १९३७–३८ मा दोस्रो विश्वयुद्धको पूर्वसन्ध्यामा द्वितीय चीन-जापान युद्धको क्रममा शाही जापानी सेनाद्वारा गरिएको एक भयानक नरसंहार थियो। यो नरसंहार चीनको तत्कालीन राजधानी नानचिङका (सन् १९१२–४९) जनतामाथि गरिएको थियो। सन् १९३७ को डिसेम्बर १३ मा ६ हप्तासम्म चलेको नरसंहारले नानचिङभरी तहल्का मच्चाएको थियो।[8][9][10][11] यस अवधिमा जापानको शाही सेनाले ४० हजार देखि ३ लाख निर्दोष चिनियाँ मानिसहरूको हत्या, व्यापक लुटपाट र महिलामाथि बलात्कार गरेको थियो।
नानचिङ नरसंहार (नानचिङको बलात्कार) | |||||||
---|---|---|---|---|---|---|---|
दोस्रो विश्वयुद्ध र द्वितीय चीन-जापान युद्धको भाग | |||||||
एक जना जापानी सैनिक किनहुया नदीको किनारमा नानचिङ नरसंहारका पीडितहरूको शवनजिकै उभिरहेको एक दृश्य। | |||||||
|
मार्को पोलो पुलको घटनापछि चीन-जापान युद्ध सुरु भएको थियो भने सन् १९३७ डिसेम्बर १३ का दिन लामो घेराबन्दी पछि लगभग १ लाख ५० हजार जापानी सेनाले चिनियाँ सहर नानचिङ कब्जा गरेको थियो। त्यसको केही हप्तासम्म सहरमा भयानक नरसंहार गरिएको थियो। सुनियोजित रूपमा जापानी सैनिकहरूले नरसंहारको योजना बनाई सुखविलासको उद्देश्यले अनिश्चितकालका लागि नानचिङ सहरका चिनियाँ जनताहरूको हत्या र महिलामाथि बलात्कार सुरु गरेका थिए। यस नरसंहारमा सम्भवतः ४ लाख चिनियाँ नागरिको हत्या र बलात्कृत भएका हजारौँ महिलाहरू पनि हत्या भएको थियो।[12]
नरसंहारको यो घटना पत्रपत्रिकामा आएपछि पनि जापानी सेनाको नेतृत्व र सम्राट हिरोहितो विरुद्ध कुनै पनि कारबाही गरिएको थिएन। युद्धको अन्त्य पछि पनि यस नरसंहारमा संलग्न अधिकांश सैन्य नेताहरूलाई मुद्दा नचलाइएको वा दण्डित गरिएको थिएन। सुदूर पूर्वमा अन्तर्राष्ट्रिय सैन्य अपराध न्यायाधिकरणले युद्ध अपराधका लागि धेरै व्यक्तिलाई सजाय सुनाएको भएतापनि यसको मुख्य योजनाकार जापानी राजकुमार आसाकालाई सजाय दिन सकिएन। यसबाहेक दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गर्नुअघि यससँग सम्बन्धित सबै प्रमाणहरू नष्ट गरिएको थियो। सन् १९४६ मा टोकियो स्थित अन्तर्राष्ट्रिय युद्ध अपराध न्यायाधिकरणका अनुसार उक्त नरसंहारमा दुई लाखभन्दा बढी चिनियाँ मारिएका थिए। सन् १९४७ मा चीनमा स्थापना भएको युद्ध अपराध न्यायाधिकरणका अनुसार तीन लाखभन्दा बढी मानिस मारिएका अनुमान गरेको थियो। जापानी सरकार र त्यस समयमा नानचिङ अभियानमा भाग लिएका धेरै सैनिकहरूले त्यहाँ बलात्कार र लुटपाट जस्ता युद्ध अपराधहरूमा संलग्न भएको स्वीकार गरेका थिए।[13][14]