दरबार हत्याकाण्ड
नेपाली ऐतिहासिक घटना / From Wikipedia, the free encyclopedia
२०५८ जेठ १९ मा, (सन् २००१ जुन १ तारिखका दिन) राजपरिवारका १० सदस्यको हत्या गरिएको थियो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ। घटना पश्चात् सार्वजनिक समाचारमा युवराज दीपेन्द्रले राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर हत्या गरेर त्यसपछि युवराज दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेको भनेर प्रचार गरिएको थियो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पिएको थियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरिएको थियो। २०५८ जेठ २२ गते राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरिएको थियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भएका थिए। नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिएका थिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्दै त्यसलाई सार्वजनिक गरेको थियो। प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकालिएको थियो।[1]
दरबार हत्याकाण्ड | |
---|---|
स्थान | त्रिभुवन सदन; नारायणहिटी दरबार, काठमाडौँ, नेपाल |
मिति | २०५८ जेठ १९ लगभग रातको ८ बजे (नेपालको प्रमाणिक समय) |
लक्ष्य | राज परिवार वीरेन्द्र शाह |
आक्रमणको प्रकार | पारिवारिक हत्या, जन हत्या |
हतियारहरू | |
मृत्यु | १० |
घाइते | ५ |