ज्याक द रिपर
संयुक्त अधिराज्यको एक अज्ञात धारावाहिक हत्यारा / From Wikipedia, the free encyclopedia
ज्याक द रिपर एक अज्ञात धारावाहीक हत्याराको सबैभन्दा प्रसिद्ध नाम हो। यो हत्यारा सामान्यतया सन् १८८८ मा संयुक्त अधिराज्यको राजधानी लन्डन, ह्वाइटचापल जिल्ला र त्यसको छेउछाउका क्षेत्रहरूमा सक्रिय रहेको विश्वास गरिन्छ। शृङ्खलाबद्धरूपमा केही महिलाको हत्या पश्चात् एक अज्ञात व्यक्तिद्वारा एउटा पत्रमा आफूनै वास्तविक हत्यारा भएको दाबी गरेको थियो। घटनापश्चात् तत्कालीन पत्रपत्रिकाहरू मार्फत प्रसारित यस पत्रमा पहिलो पटक ज्याक द रिपरको नाम फेला परेको थियो। धेरैजसोको भनाइहरूका अनुसार अनुसन्धानलाई भड्काउनका लागि यो पत्र लेखिएको र यो पत्र झुटो रहेको प्रतिवेदनहरू रहेका छन्। उक्त पत्र पत्रकारहरूद्वारा घटनालाई बढावा दिन र लोकप्रियता कमाउनका लागि लेखेको ठहर गरिन्छ। उक्त हत्यारालाई अपराध मुद्दाको प्रतिवेदनहरूमा "ह्वाइटचापलको हत्यारा" र "लेदर एप्रोन" जस्ता नामहरू पनि दिइएको थियो जुन समकालीन पत्रकरहरूको लेखनमा पनि भेटिन्छन्।
ज्याक द रिपर | |
---|---|
जन्म | अज्ञात |
अन्य नाम | "ह्वाइटचापलको हत्यारा" "लेदर एप्रेन" |
घटना विवरण | |
पीडित व्यक्ति | अज्ञात (५ वटा प्रमुख) |
मिति | सन् १८८८-१८९१ (?) (सन् १८८८: ५ वटा प्रमुख) |
स्थान | ह्वाइटचापल, लन्डन, संयुक्त अधिराज्य |
ज्याक द रिपरद्वारा गरिएका हत्याहरूमा प्रायः लन्डनको पूर्वी भूभागमा झुपडीका बासिन्दाहरू र त्यस क्षेत्रमा काम गर्ने महिला यौनकर्मीहरू समावेश थिए। सबै पीडित महिलाहरूको घाँटीको नली काटेर हत्या गरिएको र पेट च्यातिएको स्थितिमा शवहरू फेला पारिएको थियो। पीडित महिलाहरू मध्ये कम्तीमा तीन जनाको पेट चिरि शरीरभित्रको आन्द्रा काटिएको पाइएको थियो जसअनुसार हत्यारालाई पेटको शल्यक्रियाबारे थाहा थियो भन्ने अनुमान गरिएको थियो। शृङ्खलाबद्ध हत्याबारे जानकारी सन् १९८८ को सेप्टेम्बर र अक्टोबर महिनाहरूमा केन्द्रीय थियो। एक वा एकभन्दा बढी संवाददाताहरूले आफू वास्तविक हत्यारा भएको दाबी गर्दै सञ्चार माध्यम र स्कटल्यान्ड यार्डलाई पत्र लेखेका थिए। ह्वाइटचापल सतर्कता समितिका जर्ज लास्कले प्राप्त गरेको "नरकबाट" पत्रमा लेखकले मृतकमध्ये एक जनाको लागि मृगौला आरक्षणको ठूलो अंश भएको दाबी गरेका थिए। "ज्याक द रिपर" नामक हत्याराले हत्या गरिरहेको छ भनेर सर्वसाधारणले विश्वास गर्न थालेपछि यस विश्वासको कारण हत्याराको क्रूर चरित्र प्रति सञ्चार माध्यमहरूले प्रतिक्रिया देखाउन सुरु गरेका थिए।
हत्या पश्चात् ज्याक द रिपरबारे थुप्रै लेखहरू पत्रिकाहरूमा छापिएका थिए जसकारण रिपरले अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्नुका साथै यो दन्त्य कथा ठोस आधारमै स्थापित भएको थियो। प्रहरीले सन् १८९१ सम्म ह्वाइटचापलमा ११ वटा क्रूर हत्याको अनुसन्धान गरेतापनि उनीहरूले सन् १८८८ मा भएको हत्यासँग कुनै सम्बन्ध भेट्टाउन विफल बनेका थिए। पाँच पीडित महिलाहरूमा; मेरी आन निकोलस, एनी च्यापमेन, एलिजाबेथ स्ट्राइड, क्याथरिन एडोएस र मेरी जेन केली थिए जो समग्रमा क्यालोनिकल पाँचको नाममा परिचित छन्। सन् १८८८ अगस्ट ३१ देखि नोभेम्बर ९ को बीचमा यी ५ महिलाहरूको हत्या भएको थियो। साधारणतया यी हत्याहरू एकआपसमा सम्बन्धित छन् भन्ने विश्वास गरिन्छ। तिनीहरू वरपरका दन्त्यकथाहरू शुद्ध ऐतिहासिक अनुसन्धान, लोककथा र छद्म इतिहासको संयोजनमा सृजना गरिएका छन्। रिपरका घटनाहरूको अध्ययन र विश्लेषणका लागि "रिपरतत्व" भन्ने शब्दको सुरुवात गरिएको थियो। हाल रिपरको परिचयबारे सयभन्दा बढी सिद्धान्तहरू रहेका छन्। यी हत्याहरूले थुप्रै काल्पनिक कृतिहरूलाई पनि प्रेरित गरेको छ।