इरफान खान
भारतीय अभिनेता / From Wikipedia, the free encyclopedia
इरफान खान वा इरफान भनेर चिनिने साहबजादे इरफान अली खान (७ जनवरी १९६७ - २९ अप्रिल २०२०)[3] बलिउड र हलिउडमा काम गर्ने भारतीय अभिनेता थिए । भारतीय चलचित्र जगतका उत्कृष्ट अभिनेता मानिने इरफान खानले आफ्नो ३० वर्षको कार्य जीवनमा एक राष्ट्रिय चलचित्र पुरस्कार, एक एसियाली चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कार जितेका थिए ।[4][5] सन् २०११ मा उनलाई भारतीय नागरिक सम्मानको चौथो क्रममा पर्ने पद्म श्रीबाट सम्मानित गरिएको थियो ।[6]
इरफान खान | |
---|---|
जन्म | साहबजादे इरफान अली खान[1] (१९६७-०१-०७)७ जनवरी १९६७ टोङ्क, राजस्थान, भारत |
मृत्यु | २९ अप्रिल २०२०(2020-04-29) (उमेर ५३)[2] मुम्बई, महाराष्ट्र, भारत[1] |
पेशा | अभिनेता |
कार्यकाल | सन् १९८५ - सन् २०२० |
कार्य | पूर्ण सूची |
जीवनसाथी | सुतापा सिकदर
( वि १९९५; उनको मृत्यु २०२०) |
सन्तान | २ |
पुरस्कार | पूर्ण सूची |
कयौँ वर्ष सङ्घर्ष गरेका इरफान खानले सन् १९८८ मा सलाम बम्बई ! चलचित्रमा छोटो भूमिका निर्वाह गरेका थिए । सन् २००१ मा सार्वजनिक गरिएको द वारियर नामक बेलायती चलचित्रमा भूमिका खेलेपछि उनले सन् २००३ मा हासिल र सन् २००४ मा मक्बूल चलचित्रहरूमा प्रमुख पात्र खेली लोकप्रिय बनेका थिए । द नेमसेक (सन् २००६), लाइफ इन अ...मेट्रो (सन् २००७) र पान सिंह तोमर (सन् २०११) जस्ता चलचित्रका लागि उनले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएका थिए । उक्त सूचीको अन्तिममा सुचिकृत चलचित्रमा शीर्ष भूमिका निर्वाह गरेका हुनाले उनले सर्वश्रेष्ठ अभिनेताको श्रेणीमा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । द लन्चबक्स (सन् २०१३), पीकू (सन् २०१५) र तलवार (सन् २०१५) मा प्रमुख भूमिका र द अमेजिङ स्पाइडर-म्यान (सन् २०१२), लाइफ अफ पाई (सन् २०१२), जुरासिक वर्ल्ड (सन् २०१५) र इन्फर्नो (सन् २०१६) मा सहायक भूमिका निर्वाह गरेकाले उनी अन्तर्राष्ट्रिय स्तरमा चर्चित बन्न पुगेका थिए ।[7][8] उनका अन्य चर्चित कार्यहरू अन्तर्गत स्लमडग मिलियनेयर (सन् २००८), न्यू योर्क (सन् २००९), हैदर (सन् २०१४) र गुण्डे (सन् २०१४) जस्ता चलचित्रहरू र इन ट्रीटमेन्ट (सन् २०१०) जस्तो टेलिभिजन शृङ्खला पर्दछन् ।[9][10] उनको सर्वाधिक कमाइ भित्र्याउने चलचित्र हिन्दी मिडियम (सन् २०१७) का लागि उनले सर्वोकृष्ट अभिनेताको श्रेणीमा फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए । उक्त चलचित्रको उत्तरकथाको रूपमा सार्वजनिक गरिएको अङ्ग्रेजी मिडियम (सन् २०२०) उनले खेलेको अन्तिम चलचित्र थियो ।[11]
सन् २०१७ मा हिन्दी मिडियमले अन्तर्राष्ट्रिय स्तरमा ₹२ खर्ब ३७ अर्ब कमाएको थियो ।[12] सन् २०१८ मा खानलाई न्यूरोएन्डोक्राइन ट्यूमर देखा परेको थियो ।[13][14] २९ अप्रिल २०२० मा ५३ वर्षको उमेरमा ठूलो आन्द्रा सङ्क्रमणको कारण मृत्यु भयो ।[3] द गार्डियनका पिटर ब्र्याडशले खानलाई "हिन्दी र अङ्ग्रेजी भाषाका चलचित्रका प्रतिष्ठित र मनोहर कलाकार जसको मिहिनेतले दक्षिण एसिया र हलिउड सिनेमा जगतलाई जोड्ने काम गरेको छ" भनी वर्णन गरेका थिए ।[8]